काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। उनले यसलाई सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रुपमा चित्रण गरे।
आज पार्टी निकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिलेको सरकारले शाही सरकारको पालामा भन्दा बढी निरंकुश चरित्र देखाएको दाबीसमेत गरे।
नेता थापाले आफूहरुमाथि उठेका प्रश्नहरुका बारेमा पनि अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा रहेको बताएकाक छन्। कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान गर्नु हुँदैन भन्ने मान्यता आफूहरुको नरहेको भन्दै थापाले तर अहिले देखिरहेको सरकारको प्रवृत्ति चिन्ताजनक रहेको बताए।
उनले भने, ‘कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको जवाफदेही निज आफैं हुनुपर्छ । त्यसैले त हामी गृहमन्त्रीमाथि अनुसन्धान गर भनिरहेका छौं। मेराबारेमा प्रत्येक विषय अनुसन्धान होस् भनिरहेको छु। कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन, तर म सञ्चारमाध्यमका साथीलाई आग्रह गर्न चाहन्छु, अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ। हामीले पूर्वराजा ज्ञानेन्द्रको छोटो शासनमा भोग्यौं। सञ्चारमाध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास त्योबेलामा पनि यत्ति भएको थिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।