काठमाडौं– सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सकिएको छ।
तर आज बस्ने भनिएको कार्यसमिति र संसदीय दलको बैठक भने स्थगित भएको छ। पदाधिकारी र पूर्व पधाधिकारीको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने निर्णय गरेको छ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संसदको अवरोध कायमै रहने निर्णय छ। संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न सरकारका तर्फबाट नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने तयारी छ।
तर छानबिन समिति गठन नगरेमा कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नदिने भएको छ। कांग्रेसले अघिल्लो संसद अधिवेशनदेखि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।