काठमाडौँ- सरकारले सभामुख देवराज घिमिरे सहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकलाई आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको छ। सभामुख घिमिरेको पहलमा उनकै कार्यकक्षमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक सहितको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको आगामी नीति तथा कार्यक्रमको तयारीबारे अवगत गराएका हुन्।
मन्त्र गिरीले भने, ‘सङ्घीय संसद्को संयुक्त सदनमा आगामी जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ। सरकारका तर्फबाट सम्पूर्ण रुपले त्यसमा तयारी रहेको जानकारी गराएँ। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा नेपाली कांग्रेसले सहयोग गर्नुपर्छ।’
बैठकमा सभामुख घिमिरेले नीति तथा कार्यक्रमको प्रस्तुति कसरी अघि बढाउने भन्ने सन्दर्भमा सहमतिको बाटोबाट अघि बढौँ भनी प्रमुख प्रतिपक्ष सहितका दललाई आग्रह गरेको मन्त्री गिरीले जानकारी दिए।
उनले भने, ‘प्रमुख प्रतिपक्षले आफ्नो मुद्दा सम्बोधन नभएसम्म सदन चल्न सक्दैन भन्ने विषय अनुपयुक्त हो भन्ने लाग्छ। समग्रमा सहकारीका समस्या समाधान गर्न राय–सुझाव दिन सकिने भएकाले ठोस कदम चाल्न सरकार गम्भीर छ।’
कानुन मन्त्री गिरीले प्रमुख प्रतिपक्ष दलले उठाउँदै आएका विषय आफ्नो ठाउँमा छलफलका विषय बन्न सक्ने भए पनि संसद्ले सहकारीका सबै हिसाब–किताब हेर्ने र छानबिन गर्ने विषय उपयुक्त र न्यायसम्मत कुरा नभएको बताए। उनले भने, ‘उपप्रधानमन्त्रीलाई आफ्ना भनाइ राख्न रोष्ट्रममा जान नदिने, बेल घेराउ गर्ने असंसदीय कुरा हो। पुरानो अनुभवी राजनीतिक पार्टी भएकाले कांग्रेसले जिम्मेवारी बोधका साथ प्रस्तुत हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।