काठमाडौँ- संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गरेको छलफल पनि बिना निष्कर्ष सकिएको छ। नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राखेपछि बैठकले निष्कर्ष निकाल्न नसकेको हो।
सभामुखले आइतबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकसँग बैठक राखेका थिए।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो। सहकारीमा भएको अर्बौंको ठगीको विषयमा उपप्रधानमन्त्री लामिछानेको पनि संलग्नता रहेको हुनाले सो विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने कुरा बैठकमा पार्टीको अडान प्रस्तुत गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनले सो विषयमा छानबिन गर्ने उचित थलो संसद् भएकाले त्यहीँबाट समाधान गर्नुपर्छ भन्ने पार्टीका स्पष्ट मान्यता रहेको उल्लेख गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारमा भरपर्ने बताए।
यता सत्तारुढ प्रमुख घटक नेकपा एमालेले भने उपप्रधानमन्त्री लामिछानेको सहकारी प्रकरण छानविन गर्ने कांग्रेसको माग कानुनसम्मत नभएको जिकिर गरेको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति बनाएर सहकारी ठगी प्रकरण छानबिन गर्ने कुरा सभामुखको विशेषाधिकार भएकाले त्यसमा सरकारले संसद्लाई भन्न नमिल्ने जिकिर गरे।
त्यसैगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा कुनै पनि राजनीतिक पार्टीले अवरोध गर्न नमिल्ने बताएको छ। प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सदन अवरोध गर्न नमिल्ने बताए। उनले सहकारी प्रकरण छानबिनको विषय भने संवादबाटै समाधान हुने भएकाले त्यसमा जोड दिएर कांग्रेस अघि बढनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।