जनकपुरधाम- नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिए लगत्तै एमालेले पनि आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै मधेस सरकार छोडेको हो।
एमालेबाट मधेस सरकारमा सामेल भएका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन्।
आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेस सरकारबाट राजीनामा दिएका छन्।
माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ। माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।