काठमाडौं– अघिल्लो आर्थिक वर्षको असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो। चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा आइपुग्दा देशको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा चैत मसान्तमा १५.५ प्रतिशतले वृद्धि भई रु.२२३ अर्ब ६५ करोड कायम भएको छ।
चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ। आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरुक्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः२८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।