सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्ने गरी बैठक आह्वान गरेका हुन्।
कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए। ‘समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो,’ उनले भने, ‘एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरिएको हो।’
मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष सहित तीन जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताए।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ। नीतिगत व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने गरी तयारी थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।