काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार बस्ने गरी स्थगित गरिएको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमाथि आफ्नो धारणा राखेको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारी सहितका एजेण्डाबारे जानकारी गराएको उपमहासचिव खतिवडाले बताए।
यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राख्नुभएको थियो भने बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नेछन्।
स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको छ। सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।