काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताएका हुन्। उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताए। उनले योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गरे।
उनले भने, ‘हामीले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई पूर्वीय चिन्तन, विशेषता, विशषेतः ऋषिमुनिहरुले योगिहरुले जे दिनुभयो, अहिले संसारले बल्ल त्यसको महत्व बुझिरहेको छ र अभ्यासको अभियान चलाइरहेको छ। यो रुढीको कुरा होइन। यो विज्ञानको कुरा हो। त्यसकारण यो वैज्ञानिक विधिलाई आत्मसाथ गर्यौँ भने हामीले आफू व्यक्तिलाई चिन्न, फेर्न र व्यक्तिलाई राम्रो बनाउनका निम्ति मद्दत गर्दछ र यसले स्वभाविक रुपमा मानव जातिलाई पनि राम्रो बनाउनका लागि अघि बढाउन मद्दत गर्दछ। यसको अभ्यास सबैतिर गर्ने हामी अहिले सोचिरहेका छौँ। अहिलेको नीति तथा कार्यक्रममा पनि हामी यो ल्याउँदैछौँ, बजेटमा पनि ल्याउँदैछौँ। नेपाल त झन फेरि यो कोणबाट हेर्ने हो भने ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि हो। बुद्ध, शिवको तपोभूमि, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्र यहीँ। कसरी भयो त्यो सबै। ऋषिमुनिहरुले तपस्या गर्ने भनेको ध्यान गर्ने हो। ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि भनेको नेपाल हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।