काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन्।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताए।
हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हुनुपर्ने बताए। उनले समस्याहरुको पहिचान गर्ने, अनुसन्धान गर्ने कुरामा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताए।
उनले गेम चेन्जिङ प्रोजेक्टहरुको छनोट गर्न नसकेको जिकिर गरे।
पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताए। उनले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताए। उनले सिंचाईको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको बताए।
उनले निर्यात प्रवद्र्धन, राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।