काठमाडौं– नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन्।
सर्वोच्च अदालतको आदेशलाई आधार देखाउँदै संसद् सचिवालयले उनको निलम्बन फुकुवा गरेको हो। महासचिव पाण्डेयले सर्वोच्च अदालतको आदेशबमोजिम सूचना जारी गरिएको उल्लेख गरेका छन्।
भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनी संघीय संसद् सचिवालयबाट जारी सूचना बदर गरिदिएका थियो।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा गुरुङ मतियार ठहर भएका थिए। उनको हकमा कैद ठहर भएको थिएन भने जरिवाना गरिएको थियो। उक्त मुद्दा सर्वोच्च अख्तियारले पुनरावेदन गरेपछि गुरुङले निलम्बन फूकुवा हुनुपर्ने भन्दै रिट दायर गरेका थिए।
उक्त रिटमा सर्वोच्च निलम्बन गरिराख्ने निर्णय गैरकानुनी भएको ठहर गरेको थियो। सर्वोच्चको पत्र पुगेपछि संसद् सचिवालयले उनको निलम्बन फुकुवा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।