काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कृषिमन्त्री ज्वालाले यस्तो बताएकी हुन्। उनले ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय,अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत प्रमुख प्राथमिकता कृषिलाई दिए अबको १५ वर्षमा कृषि क्षेत्रमा कायापलट हुने दाबी गरिन्।
कृषि क्षेत्रमा धेरै समस्या र चुनौतीहरु रहेको भन्दै त्यसलाई सुधार गर्न जरुरी रहेको भन्दै आफू त्यो कार्यमा जुटेको पनि मन्त्री साहको भनाइ छ। उनले कृषिलाई प्राथमिकता दिँदा आम जनतामा सुखको अनुभुति हुनुको साथै मुलुक समेत समृद्धिको बाटोमा जाने दाबी गरिन्।
मन्त्री साहले कृषि मन्त्रालयसँग १२ करोड बजेट भए पनि कृषि क्षेत्रबाट आएको माग साढे १६ अर्बको बराबरको रहेको बताइन्। उनले थोरै बजेटले कृषि क्षेत्रको सुधार गर्न सक्ने अवस्था नभएको बताइन्।
उनले कृषि क्षेत्रका समस्या समाधान र प्राथमिकताको लागि अर्थमन्त्रीसँग कृषिमा बजेट थप गर्न माग गरिरहेको जानकारी दिइन्। मन्त्री साहले सरकारले वास्तविक किसानको परिचयपत्र तत्कालै वर्गिकरण गरी किसान परिचय पत्र तत्कालै व्यवस्था गर्ने प्रतिबद्धता जनाइन्।
उनले पछिल्लो समय दुध,पशुबीमाका लगायतका समस्या बजेट अभावको कारणले भइरहेको बताइन्। उनले उखु किसानलाई थप समस्या आउन नदिने गरी मन्त्रालय गम्भिरताका साथ काम गरिरहेको बताइन्। मन्त्री साहले समयमा किसानलाई रासायनिक मल उपलब्ध गराउनको लागि जिटुजीमार्फत् कार्यविधि, कानुन नियम र नियमावली भित्रै बसेर छोटो बाटोबाट मल ल्याउने प्रक्रिया अपनाउन आवश्यक रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।