काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेशनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’बीच एक सम्झौता भएको छ। कृषि क्षेत्रमा सहयोग, प्रवर्द्धन, आर्थिक विकास, नेपाल-भारतबीचको व्यापारिक सम्बन्धलाई सुमधुर र सहज बनाउने उद्देश्यले यी दुई संस्थाबीच सम्झौता भएको हो।
दुवै देशका उद्यमी, कृषक र व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा एकआपसमा सहयोग आदानप्रदानका साथै असल कृषि कार्य, प्राविधिक सहयोग, अध्ययन अनुसन्धान, अवलोकन भ्रमण, अनुभव आदानप्रदान, बजार, बजारीकरण र आयात निर्यात आदिमा सहयोग गर्ने उद्देश्यले सम्झौता भएको कृषि उद्यम केन्द्रले जनाएको छ।
कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले यो सम्झौताले नेपालले भारतको कृषि बजारको अध्ययन अवलोकन, उद्यमी, कृषक र कृषि सम्वद्ध व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेर अनुभवको आदान प्रदान गर्न सहयोग पुग्ने बताए। उनले यो सम्झौता नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि कोशेढुङ्ग सावित हुने भएकोले कृषि उद्यम केन्द्र सम्झौताको मर्म अनुसार कार्य योजना बनाएर अगाडि बढने प्रतिवद्धता जनाएका छन्।
सम्झौता पत्रमा केन्द्रका सभापति बस्नेत र बोर्डका प्रबन्धक निर्देशक डा एएस यादवले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।