काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन्।
बिहीबार काठमाडौंमा याडिया जि–६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।
उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भए पनि अहिलेसम्म आइसक्दा विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए।
उनले एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरुले आग्रह गरिरहेको बताए। धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको बताउनु भयो । उहाँले चार्जिङ स्टेशनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने बताए।
उनले प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताए। उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए।
उनले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताए। ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने बताए। याडिया जि—६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ। यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ। यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ । फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ।
फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन्। कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ। याडिया जि–६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।