काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने जल संकटको चुनौतीको सामना गर्न भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन्।
विश्व पानी दिवस, २०२४ का अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताए।
शहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ। उनले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा गर्न समेत आवश्यक रहेको बताएका छन्।
भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै राष्ट्रपति पौडेलले अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका बताए।
‘भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ,’ राष्ट्रपति पौडेलको सन्देश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।