काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६५ निर्वाचन क्षेत्रको अपनत्व ग्रहण गर्नेगरी आवश्यकताको आधारमा सरकारले बजेटमा योजना तर्जुमा गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले मुलुकलाई सन्तुलित विकासको आवश्यकता रहेको भन्दै त्यहीअनुसार बजेटको व्यवस्था गर्न जरुरी रहेको बताए।
उनले पूर्वाधारको व्यापक विकास अहिलेको आवश्यकता भएको दाबी गरे। आइटी नयाँ क्षेत्र र सरकारले सोचेको भन्दा बढी आम्दानी र रोजगारी दिने भएकाले सरकारले आइटीलाई सरकारले प्राथमिकताका साथ उल्लेख गर्नुपर्ने बताए।
उनले सरकारले आइटी क्षेत्रलाई उकास्ने किसिमको नीति निर्माण गर्न अहिलेसम्म नसकेको बताए। उनले बजेटमा योजना समावेश हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य गर्न आवश्यक रहेको बताए।
उनले पुँजीको निर्माण नभई मुलुक दिगो विकास हुन नसक्ने भन्दै सरकारले अल्पकालीन रोजगारी भन्दा पनि दीर्घकालीन रोजगारी निर्माण गर्न विषयमा विशेष ध्यान दिन आवश्यक रहेको जोड दिए। उनले बजेटमा प्रतिफल दिने कुरालाई मात्रै महत्व दिन सुझाव दिए।
अर्थमन्त्रीले अहिलेको मुलुकको आवश्यकता र अपेक्षालाई हेरेर बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याए। समिति सभापति सन्तोष चालिसेले सरकारले भन्सारमा हुने चोरी पैठारी रोक्न आवश्यक रहेको बताए।
उनले ७० अर्ब बराबर चिज निर्यात भएको रेकर्ड भए पनि अहिले गुणस्तरमा प्रश्न उठाएर युरोपियन मुलुकले रोक लगएको भन्दै त्यसलाई खोल्न सरकारले ध्यान दिन आश्वश्यक रहेको बताए। उनले गलैँचा निर्यात बढाउने विषयमा पनि सरकार गम्भिर हुन आवश्यक रहेको बताए।
सभापति चालिसेले विद्युत् निर्यात विदेशी मुद्रा आर्जन गर्ने प्रमुख उपाय रहेकाले सरकारको ध्यान विद्युतको बजार खोजेर विद्युत् उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए।
उनले बैंकको ब्याजदर १७ प्रतिशतसम्म पुग्दा साना तथा घरेलु उद्योग संकटमा रहेको बताए। बैंकको ६ खर्ब तरलता बजारमा लगानी गर्न वातावरण सरकारले बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।