काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। उनले राजश्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको पनि बताए।
भन्सार नाकामा समस्याहरु रहेको स्वीकार गर्दै भन्सार बिन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको उनको भनाइ थियो। उनले सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महशुस गर्ने अवस्था आउने दाबी गरे।
अर्थमन्त्री पुनले आन्तरिक राजश्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए। ४० प्रतिशत भन्दा बढी राजश्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको बताए।
उनले नेपाल दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा रहेकाले करिब १७ सय किलोमिटर खुला बोर्डर रहेको जानकारी दिँदै खुला नाका भएकाले पनि भन्सारमा समस्या आइरहेको धारण राखे। भन्सारका समस्या मान्छेको नियत भन्दा पनि क्षमता नपुगेको अर्थमन्त्रीको दाबी थियो।
अर्थमन्त्री पुनले सरकारको संरक्षण कम भए पनि कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको बताएका छन्। नेपालमा भारतले झैँ कृषिलाई संरक्षण गर्न नसकिएको उनको भनाइ थियो। उनले हरेक वर्ष ६० अर्ब बराबरको मल किसानलाई अनुदान दिनुलाई सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बुझ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।