काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्।
उनले सरकारसँग अहिले प्राप्त मात्रामा पैसा रहेको बताए। लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको उनको भनाइ थियो।
उनले अहिले पनि विदेशी सहयोगमा प्रतिबद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको बताउँदै सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताए।
उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिए पनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए। उनले प्रतिबद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा जोड दिए।
उनले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि अहिले ७ प्रतिशतमा सिमित रहेको बताए। पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको उनको भनाइ थियो।
उनले पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समिक्षा जरुरी रहेको बताए। सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई समाना गर्न सकिने अवस्थामा रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।