काठमाडौं- नयाँ गठबन्धन र सरकार निर्माणप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया जनाएको छ। चीनले नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने चाहना रहेको बताएको छ।
चिनियाँ विदेश मन्त्रालयले नेपाली पार्टीहरुले मिलेर राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविका सुधारका लागि काम गर्ने अपेक्षा पनि व्यक्त गरेको हो।
मंगलबारको नियमित पत्रकार सम्मेलनमा चीनले नेपालबारे प्रतिक्रिया दिएको हो। ग्लोबल टाइम्सले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको साझेदारी तोडेको र फेरि एमालेसँग गठबन्धन बनेकोमा चीनको प्रतिक्रिया के हुन्छ भनेर सोधेको थियो। उक्त प्रश्नको जवाफमा चीनले आफूहरु नेपालको सरकारसँग मिलेर काम गर्ने बताएको हो।
‘नेपालले नयाँ गठबन्धन सरकार बनाएको चीनले संज्ञान लिएको छ। नेपालका सम्बन्धित पक्षहरुले नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन एकताबद्ध भई सहकार्य गर्ने विश्वास हामीलाई छ,’ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ पत्रकार सम्मेलनमा भनेकी छन्।
मित्रवत् छिमेकी र सहयोगी साझेदारका रुपमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।