काठमाडाै- नेकपा एकीकृत समाजवादीलाई एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवासमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका हुन् ।
उक्त प्रस्तावलाई नेपालले सकारात्मक रुपमा लिएको र भोलि (बुधबार) बस्ने एकीकृत समाजवादीको बैठकमा छलफल गरेर उपयुक्त निर्णय लिने नेपालले ओली र प्रचण्डलाई बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताए । ‘माधवजीको स्वास्थ्य बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएका थियौँ । यही क्रममा देशको परिस्थितिको बारे चर्चा चल्नु स्वाभाविक नै हो’, नेपाल गठबन्धनमा सहभागी हुनेबारेमा ओलीले भने, ‘एफर्मेटिभ (सकारात्मक) ।’
यस्तै भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले आफूहरूले गठबन्धनमा सहभागी हुन अनुरोध गर्दा नेपालले भोलि पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको बताए । उनले नयाँ प्रक्रियामा सहमत सबै पक्षलाई समेट्न आफूहरूले पहलकदमी लिएको र नेपाललाई पनि अनुरोध गरेको बताए । नेपाल निवासमा ओली, प्रचण्ड र नेपालसहितका नेताहरूबिच करिब २ घण्टा छलफल चलेको थियो ।
नेकपा एसलाई गठबन्धनमा ल्याउने छलफल सकारात्मक : ओली
वैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसलाई सरकार र गठवन्धनमा ल्याउने छलफल सकारात्मक भएकाे दावी गरे ।
चार दलबीच निर्माण भएको गठबन्धनमा माधवकुमार नेपाललाई ल्याउने विषयको छलफल सराकारात्मक भएको ओलीले प्रतिक्रिया दिए । नेपाल निवासबाट बाहिरिने क्रममा ओलीले नेपालको स्वास्थ्य बारे छलफल भएकाे र समसामयिक विषयमा पनि छलफल भएकाे बताए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।