काठमाडौं- कर्णाली प्रदेशमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। संघीय गठबन्धनमा सोमबार परिवर्तन आएसँगै मंगलबार सो प्रदेशमा कांग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिएका थिए। राजीनामासँगै सरकारलाई समर्थन पनि फिर्ता लिइएको हो।
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री छन्। सोही सरकारमा कांग्रेसका तर्फबाट वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसी मन्त्री थिए।
संघीय सरकारमा परिवर्तन आएसँगै प्रदेश सरकारमा पनि परिवर्तन आउने गरेकाले आफूहरूले राजीनामा तथा समर्थन फिर्ता गर्नुपरेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए।
‘उहाँहरू (नवगठित गठबन्धन)ले प्रदेश सरकार पनि सहमतिमा चलाउने भन्नुभएको छ’, उनले भने, ‘त्यसैले मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा अगाडि नै राजीनामा दिएको र समर्थन फिर्ता लिएका हौं।’
संघीय गठबन्धन फेरिएसँगै प्रदेशहरूमा पनि त्यसको असर देखापर्न थालेको छ। मंगलबार नै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।