काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्। सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन्।
मंगलबार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्तसमेत राखे।
बुधबार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ। नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए।
सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो। सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रश्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए।
नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भइरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए। पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएकोसमेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।