काठमाडौं– पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन्। सोमबार नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताए।
मंगलबार उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने धारणा राखे। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताए।
उनले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए। कांग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘अप्रत्याशित हो। हिजोको सत्ता गठबन्धनको परिवर्तन र नयाँ सत्ता गठबन्धनको स्थापना अप्रत्याशित छ। यो कसैले चाहेका थिएनन्। एकातिर प्रधानमन्त्री छँदैछन्, त्यहाँ पहिलो पनि दुई महिना जति केपी ओलीको गठबन्धनमा सामेल भएर प्रधानमन्त्री बन्नुभएको व्यक्ति। यहाँ प्रधानमन्त्री भएर काम गरिरहनुभएको छ। त्यस्तो अवस्थामा, त्यसरी गठबन्धन तोडेर फेरि अर्कोतिर जान सक्नुहुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र? सबैको निम्ति अप्रत्याशित भयो। यस्तो घटनाको निम्ति वातावरण धेरै पहिलादेखि बनिरहेको हुन्छ। सिर्जना हुने अलि लामो समय हुन्छ। तर घटना स्वाट्ट घट्दा अप्रत्याशित लाग्छ।’
नेता गौतमले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए। उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको दाबी गरे। ‘कांग्रेस काँग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै कांग्रेस अघि बढ्नुपर्छ। कम्युनिष्ट कम्युनिष्ट भएरै अघि बढ्नुपर्छ। आफैं जनताको बीचमा जानुपर्छ,’ उनले भने।
उनले निर्वाचित भइसकेपछि प्रधानमन्त्री पाउन जे पनि गर्ने परीपाटीको अन्त्य हुनुपर्ने बताए। मिल्ने र छुट्टिने स्थितिलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘जनतासँग मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री पाउनको निम्ति जे पनि गर्ने, त्यस्तो किसिमको गर्नु हुँदैन। अहिले पनि कम्युनिष्ट र काँग्रेस मिलेर जाने स्थिति छ। यो स्थिति अन्त्य भइसकेको छैन। मिल्ने स्थिति पनि तुरुन्तै बन्छ र छुट्टिने स्थिति पनि तुरुन्तै बन्छ। अहिलेलाई यसलाई सकारात्मक ढंगले लिनुपर्छ। कम्युनिष्ट मिलुन् र कम्युनिष्टको विचारधाराबमोजिम अघि बढुन्। अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन्।’
उनले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए। उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।