काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सोमबार सुरुवात भएको नयाँ सत्ता गठबन्धनप्रति पर्ख र हेरको नीति लिएको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ‘सम्मानित नेता’ झलनाथ खनालले गठबन्धनबारे सबै कुरा बाहिर आएपछि दृष्टिकोण सार्वजनिक गरिने बताए।
‘आजबाट घटनाक्रम सुरु भएको छ। यो घटनाक्रम कसरी भयो भन्ने कुरामा पनि हामीलाई थाहा पत्तो छैन। नयाँ गठबन्धनका नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया के हो, चरित्र के हो, यी सबै कुरा हामीले थाहा पाउनुपर्यो। त्यो थाहा पाएको छैन। यो थाहा पाउने हिसाबले उहाँहरूले कुराकानी गर्नुभयो भने कुराकानीको सिलसिलामा थाहा पाइसकेपछि हामीले आफ्नो अन्तिम दृष्टिकोण बनाउन मिल्छ’, उनले भने।
सचिवालय बैठकले गठबन्धनबारे सबै कुरा बाहिर आएपछि गुण र दोषका आधारमा आफ्ना नीतिहरू प्रष्ट पार्ने भनेर लिखित निर्णय लिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
बैठकले पारित गरेको प्रस्तावलाई उद्धृत गर्दै उनले भने, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ। नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै प्रष्ट भइसकेका छैनन्। तसर्थ प्रधानमन्त्रीले लिएका निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनका गुण र दोषका आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।