काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका छन्। सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई घेरा हालेर सिध्याउने प्रयासहरू हुने गरेको बताए।
‘मलाई घेरा हालेर सिध्याउन धेरैचोटि कोसिसहरू भए प्रतिक्रियावादीबाट। घेरा तोड्दै आएका छौं। तोड्दै जान्छौं। त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु। ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं। त्यो वैज्ञानिक र क्रान्तिकारी हुन्छ’, उनले भने।
उनले आफू र आफू नेतृत्वको आन्दोलनलाई प्रायः मान्छेहरूले, प्रतिक्रियावादीहरूले अविश्वसनीय भन्ने गरेको बताए। ‘कतिबेला कता फड्किन्छ, भन्नै नसकिने बुझ्नै नसकिने मान्छे भन्छन्’, उनले भने, ‘म अनप्रेडिक्टेबल होइन।’
प्रधानमन्त्री प्रचण्डले आफू नेपालका श्रमिक जनता, नेपालका महान सहिद, योद्धा, घाइते, अपांग र नेपाल राष्ट्रप्रति प्रेडिक्टेबल रहेको दाबी गरे। भने, ‘उनीहरूप्रति इमानदार हुने कुरामा म जहिले पनि कायम छु। प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु। त्यसैले उनीहरूका लागि म विश्वसनीय छैन। हुन पनि परेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।