काठमाडौं- एमाले र माओवादी केन्द्र लगायतका दलले गठन गरेको नयाँ सत्ता गठबन्धनमा राप्रपा सहभागी नहुने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र नहुने बताएका हुन्।
'वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ', लिङ्देनको भनाइ छ।
यता माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पनि गठबन्धनमा राप्रपा आउने सम्भावना नरहेको बताए। 'हामीले प्रष्ट रुपमा भन्यौँ, कांग्रेस छाड्नु र राप्रपा लिनु झन् प्रतिगमनकारी हुन्छ', उनले भने।
राप्रपासँग अरु कतिपय छलफल र गणितीय प्रसंग चल्न सक्ने भए पनि प्रणालीकै विपक्षमा भएकाले सो पार्टीसँग मिलेर सरकार नबनाउने भन्ने आफूहरूले प्रष्ट गरिरहेको बताए।
अघिल्लो वर्ष पुस १० गते नयाँ गठबन्धन निर्माण हुँदा राप्रपा पनि सहभागी भएको थियो। त्यतिबेला पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री भएका थिए। तर, सो गठबन्धनमा समस्या आएसँग राप्रपाले सरकार छाडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।