काठमाडौं- आइतबारसम्म सत्ता गठबन्धनलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। संक्रणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने विषयमा प्रधानमन्त्रीले देउवासँग छलफल गरेका थिए।
देउवासँगको भेट लगत्तै प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे। उक्त भेटपछि सत्ता गठबन्धनको सहयात्रा परिर्वतन भयो। प्रधानमन्त्री प्रचण्डले आगामी यात्राको सहयात्रीको रुपमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजे।
बालुवाटारमा एमालेसँग सत्ता साझेदारी गर्ने सहमति प्रधानमन्त्रीले गरेसँगै सोमबार नै नयाँ मन्त्रिपरिषद् केन्द्रमा गठन हुने देखिएको छ। संघीय सरकारमा सुरुमा सानो आकारमा नयाँ मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीको तयारी छ। त्यसमा केही मन्त्रालय समेत प्रधानमन्त्रीले तय गरेर सहमति गरेको सार्वजनिक भएको छ।
सत्ता गठबन्धनको काँध फेरिएसँगै नेपाली कांग्रेस फेरि एक पटक प्रतिपक्षमा पुगेको छ। नेपाली कांग्रेसले केन्द्रदेखि सातै प्रदेशमा सरकार गुमाउने भएको छ। योसँगै नेपाली कांग्रेसले चार मुख्यमन्त्री र ३८ मन्त्री गुमाउने भएको छ।
नेपाली कांग्रेसले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री गठबन्धनबाट पाएको थियो। अब गठबन्धन परिवर्तन हुँदा कांग्रेस सातै प्रदेशमा प्रतिपक्षमा पुग्ने भएको छ।
नेपाली कांग्रेसका तर्फबाट कोशीमा केदार कार्की, लुम्बिनीमा डिल्लीबहादुर चौधरी, गण्डकीमा सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री भएका थिए। सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण निर्माण गरेर जाने निर्णय गरिसकेको छ।
केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो। कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ शहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए। सात प्रदेशमध्ये चारमा नेतृत्व र तीन प्रदेश सरकारमा कांग्रेसको सहभागिता छ।
कांग्रेसबाट केन्द्रमा ९ र प्रदेशमा मुख्यमन्त्री सहित २९ जना मन्त्री छन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरण हेर्दा सातै प्रदेशमा कांग्रेसको सरकार बन्ने अवस्था छैन।
कोशीमा मुख्यमन्त्री सहित पाँच मन्त्री
पछिल्लो पटक सरकार परिर्वतन भएको कोशी प्रदेशमा सुरुमा नेकपा एमालेको सर्मथनमा सरकार बनेको थियो। तर पछि एमाले नै मुख्यमन्त्री विरुद्ध हुनुपर्ने परिस्थिति सिर्जना भएको थियो।
कोशी प्रदेशमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा सरकार छ। कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, प्रदीप सनुवार, स्वास्थ्य मन्त्री, रामकुमार खत्री कृषि तथा सहकारी मन्त्री छन्।
कांग्रेसबाट कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरुङ राम छन्। उनीहरुले सत्ता गठबन्धन परिर्वतन भएसँगै मन्त्री पद गुमाउनेछन्।
मधेस: तीन मन्त्री
सत्ता गठबन्धन परिर्वतनको असर मधेस प्रदेशमा पनि पर्नेछ। जसपा नेतृत्वको मधेस प्रदेशमा कांग्रेसका तीन जना मन्त्री छन्। कांग्रेस मधेस प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार, उपसभापति वीरेन्द्र सिंह सामाजिक विकास र नेता मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री छन्।
बागमतीमा ६ र भावी मुख्यमन्त्री
बागमती प्रदेशमा नेपाली कांग्रेस र माओवादीका बीचमा मुख्यमन्त्री आधा आधा गर्ने सहमति भएको थियो। तर अब नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सम्भावना समाप्त भएको छ।
बागमती प्रदेशका १२ मध्ये कांग्रेसले ६ मन्त्रालयको जिम्मेवारी सम्हालेको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइ, मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री छन्। अब उनीहरुले पनि पद गुमाउनेछन्।
गण्डकी : मुख्यमन्त्री सहित चार मन्त्री
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ। गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सात सदस्यीय गण्डकी प्रदेश मन्त्रिपरिषद्माम ७१ प्रतिशत कांग्रेसको उपस्थिति छ।
गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीका साथै चार जना मन्त्री छन्। कांग्रेसका सरस्वती आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी, महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था, जितप्रकाश आले आर्थिक मामिला र दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कमान्ड सम्हालिरहेका छन्। अब यो पनि परिर्वतन हुनेछ।
लुम्बिनी : मुख्यमन्त्री सहित तीन मन्त्री
लुम्बिनी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेसबाट राजु खनाल स्वास्थ्य र सरोज थापा उद्योग तथा यातायात व्यवस्था मन्त्री छन्।
कर्णालीमा तीन मन्त्री
कर्णाली प्रदेश सरकारमा कांग्रेसका ३ जना मन्त्री सहभागी छन्। वेदराज सिंह आर्थिक मामिला तथा योजना, खड्गराज पोख्रेल सामाजिक विकास, कृष्णकुमार बीसी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन्।
सुदूरपश्चिम : मुख्यमन्त्री सहित दुई मन्त्री
यस्तै सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार छ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
अहिले कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।