काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाउन तयार भएको अवस्थामा आफूहरू उनीसँग सहकार्यको लागि तयार भएको बताएका छन्।
सोमबार बिहान बसेको सचिवालय बैठकमा सत्ता गठबन्धनमा संकट बढेको र अहिलेको स्थितिमा अधिकतम के राम्रो गर्न सकिन्छ भनेर छलफल गरेको उनले बताए। 'स्थिति परिपक्व भइसकेको छैन', उनले भने, 'तर केही नयाँ घटनाक्रम विकास हुन सक्ने अवस्था देखिएको छ।'
पछिल्ला घटनाक्रमको विश्लेषण गर्नका लागि आफूहरू आज बैठकमा बसेको बताए।
नयाँ गठबन्धन बन्ने विषयमा भने प्रधानमन्त्रीले के गर्नुहुन्छ, त्यही हुने बताए। आइतबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक भेटेको सन्दर्भमा जवाफ दिँदै उनले भने, 'हिजो उहाँले कांग्रेससँगको सहकार्य कठिन हुँदै गएको, त्यहाँभित्र कतिपय विवादित मन्त्रीहरूलाई हटाउन खोज्दा पनि नदिइएको, नचाहेको। अर्थमन्त्रीले लिएका नीतिहरूले मुलुकलाई आर्थिक रुपमा झन् अप्ठ्यारोमा पारेको। र अलिकति नयाँ ढंगले अघि बढ्न खोजेको संकेत गर्नुभएको छ।'
प्रधानमन्त्रीको संकेतबारे आज दिनभरमा प्रष्ट हुनसक्ने ज्ञवालीले बताए।
माओवादी केन्द्रसँगको यसअघिको गठबन्धन टुटेको र पुनः गठबन्धनको तयारी भइरहेको बारे उनको जवाफ थियो, 'देशको राजनीतिक स्थिति कति अप्ठ्यारोमा छ भने चाहेका-चाहेका पार्टनरहरू, एक्लै अघि बढ्न सक्ने स्थिति छैन, संसद्मा जो शक्तिहरू छन्, उनीहरूसँगै कुनै न कुनै रुपले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था छ।'
उनले नेकपा एमाले विद्यमान सीमाभित्र तुलनात्मक रुपमा जससँगको सहकार्य राम्रो हुनसक्ला, जसबाट देश र जनताले अलिकति डेलिभरी पाउलान्, त्यसभित्र आफूहरूले तुलना गरिरहेको ज्ञवालीको भनाइ छ। 'अन्तिम निर्णय भने भइसकेको अवस्था होइन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।