काठमााडौं– पूर्वपराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा नारायण खड्काले भुतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने बताएका छन्। आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सकेसम्म बेलायत सरकारसँग पहल गर्ने र पहलबाट बेलायती सैनिक सरह नै ब्रिटिश गोरखा सैनिकले पनि समान सेवा सुविधा पाउनुपर्ने माग सम्बोधन हुन नसके अन्तर्राष्ट्रिय कानूनबाट अघि बढ्न सकिने बताए।
उनले यस विषयमा प्रधानमन्त्री जानु भन्दा पनि प्राविधिक समितिले अजेण्डाका विषयमा छलफल गर्ने वातावरण बनाइदिनुपर्ने माग गरे। मन्त्री स्वयंले यस विषयमा नेपालका लागि बेलायती राजदूतलाई बेलाएर छलफल गर्नुपर्ने उनको भनाइ थियो।
उनले भुतपूर्व गोरखा सैनिकमाथि बेलायत सरकारले गरेको काम गम्भीर, अन्याय र विभेदकारी रहेको बताए। भारत र अमेरिका लगायतका देशहरुसँगको लविङ पनि आवश्यक रहेको उनको जिकिर थियो।
उनले भुतपूर्व गोरखा सैनिकले न्याय पाउनुपर्ने बताउँदै सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।