काठमाडौं- संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। प्रधानमन्त्री दाहालको निम्तोमा दुवै दलका प्रमुखहरु बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीले बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ।
संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ। त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन।
समितिले उक्त विधेयकमा सहमति खोज्ने भन्दै आइतबार नै समितिको बैठक राखेको छ। उप समितिबाट टुङ्गिए पनि समितिमा आएर अल्झिएको छ।
मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या/दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन।
यसैगरी सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायम छ।
कांग्रेस, एमाले र माओवादी केन्द्रले यससँग सम्बन्धित विवाद टुंगो लगाउन उपसमिति गठन गरेर छलफल गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।