काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन्।
प्रथम शहिद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रताका साथ विकास भएको दाबी गरे। उदाहरण प्रस्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी गरे।
उनले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गरेको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको बताए।
उनले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग आह्वानसमेत गरे।
उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।