भरतपुर– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका सम्पदाहरुलाई ठिक ढंगले विकास गर्नसके देश कायापलट हुने बताएका छन्।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालका सुन्दर सम्पदाहरुलाई आर्थिक उपार्जनको मार्गमा ल्याउनसके नेपालको अर्थतन्त्रमा कायाकल्प हुनेमा जोड दिए।
उनले नेपालका हिम श्रृंखला, तराईका फाँट, पहाडका चुचुराहरु नेपालका धेरै मनमोहक रहेको उल्लेख गर्दै चितवन देशको सभ्यता र सम्भावनाहरु बोकेको महत्वपूर्ण उपत्यका भएको पनि बताए।
कमी भएका ठाउँमा सुधार गरेर कोर्ष करेक्शन गर्न जरुरी रहेको उनको भनाइ थियो। वर्तमान संविधानको भाग ४ अध्ययन गरी देशको बजेट र नीति तथा कार्यक्रम तय गर्नुपर्ने उनले सुझाव दिए।
पूर्वप्रधानमन्त्री खनालले देशको अर्थतन्त्रको जग कृषिक्षेत्र गतिहिन अवस्थामा रहेको बताए। देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।