काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थिति अनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन्।
बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको पनि दाबी गरे। उनले संसद्मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको पनि बताए।
ओलीले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे। उनले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको दाबी गरे।
‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन। यहाँ त संसद्मा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ। संविधानमा त्यस्तो कुनै व्यवस्था छैन। कानुनमा व्यवस्था छैन, केही व्यवस्था छैन। के सपना देख्छ को मान्छेले भन्न सकिँदैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।