काठमाडौं- नेकपा(एमाले)का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।
‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा चित्रित गरिएको उनले दाबी गरे।
पन्तले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्व प्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताए। कांग्रेसले समेत सभापतिलाई त्यसो भनिदा चुइँक्क बोल्न नसकेको भन्दै कांग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ? भनी प्रश्न गरे।
उनले माओवादी केन्द्रले विगतमा भारतसँग सुरुङ युद्ध लड्ने समेत घोषणा गरेको भन्दै आफ्नो अध्यक्ष तथा प्रधानमन्त्रीलाई यसो भनिरहँदा कुन सुरुङमा लुकेर बसेको भनेर प्रश्न समेत गरे।
उनले माओवादीहरुको स्वाभिमान कहाँ गयो भनेर पनि प्रश्न गर्दै सांसद पन्तले माओवादीहरुको शरीरमा तातो स्वाभिमानी रगत बगेको छ कि पानी बगेको छ भन्ने प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।