काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारलाई बालकुमारी घटनामा जवाफ दिन रुलिङ गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले बालकुमारी लगायतका घटनाबारे उठाएका विषयमा सरकारले जवाफ नदिएको भन्दै सरकारलाई जवाफका लागि रुलिङ गर्न माग गरेपछि सभामुख घिमिरेले सरकारलाई शुक्रबार छैटौं पटक रुलिङ गरेका हुन्।
त्यसक्रममा सभामुख घिमिरेले २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन गरेका छन्।
‘यसअघिका बैठकहरूमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकिएको ब्यहोरा जानकारी गराउँछु। म यसलाई फेरि भन्छु। आजको बैठकमा पनि सदस्यहरूले सरकारको जवाफ माग गर्नुभएको छ। आज र यसअघि उठेका विषयहरूमा सभाको मिति २०८० फागुन २१ गते बस्ने बैठकमा उपस्थित भई जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु’, सभामुख घिमिरेको रुलिङ छ।
सभामुखको यस्तो रुलिङपछि मात्र विपक्षी सांसदहरू बसेका थिए र संसद् सुर भएको थियो।
विपक्षी दलहरूले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।