काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छा अनुसार चलेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोल्दै महामन्त्री थापाले यी दुई विभाग चल्ने छुट्टै कानुनी प्रावधान भए पनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको धारणा राखे।
उनले कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए। राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै उनले बजार हल्ला नभएर वास्तविकता रहेको दाबी गरे।
कांग्रेस महामन्त्री थापाले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्य अनुसार काम गर्न अफ्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे। उनले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिकज्ञलाई दुःख दिने माध्यमको रुपमा काम गरेको आरोप लगाए। उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाई हुन्छ भन्ने सुनेको समेत बताए।
थापाले भने, ‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान कानुन अनुसार चलेका छन्। राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरण र प्रमाण छन्। बजारका हल्ला मात्रै हुन् भन्न सक्ने अवस्था छैन।’
उनले सम्पत्ति शुद्धीकरण विभागले टास्क फोर्सले दिएको सुझाव बमोजिम घर-जग्गा,आयात-निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।