काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकी छिन्।
राष्ट्रिय महिला आयोगले बिहीबार आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तर्क्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीय स्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताइन्।
‘प्रविधि आफैँमा पूर्वाग्रही हुँदैन। हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ। अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ,’ उनले भनिन्, ‘सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको सदुपयोगबारे सचेतना जगाउन आवश्यक छ।’ उनले डिजिटल शिक्षालाई ग्रामीण स्तरसम्म विस्तार गर्न जरुरी रहेको समेत उल्लेख गरिन्।
मन्त्री शर्माले अनलाइनबाट हुने हिंसाको न्यूनीकरण सम्बन्धमा सरकारले कानुनी व्यवस्था गरी सम्बोधन गर्ने बताइन्। ‘विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग र नियमनलाई सरकारले बेवास्ता गर्न सक्दैन। यसबारे सरकार सजग छ,’ उनले भनिन्, ‘राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐनमा गरिएका व्यवस्थाले अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा सहयोग गर्नेछ।’
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।