काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमा बेचैनी बढेको बताएका छन्। बिहीबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले आफू नेतृत्वको क्याबिनेटले सोचे जसरी काम गर्न नसकेकोमा बेचैनी बढेको बताएका हुन्।
‘मैले सरकारको नेतृत्व सम्हाल्दै गर्दा सुशासनको पक्ष, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ हामी सबैले, यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले, बडो उत्साहको साथ अगाडि बढेका थियौँ। झन्डै एक वर्षसम्म मोटामोटी ढंगले हामी ठिकठिकै ढंगबाट जान्छौं भन्ने नै स्थिति थियो। तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले जोवन धान्ने र काल पर्खिने खालको सरकार हुन नहुने बताए। उनको भनाइ थियो, ‘हामीले त परिणाम दिने, जनतालाई सेवा, विकास निर्माण र सुशासनको दृष्टिले पनि नयाँ गरेर देखाउँछौँ भन्ने प्रतिबद्धता र संकल्पले अघि अगाडि हो। तर, यहाँ आउँदा चाहिँ परिणाम त्यस्तो भइरहेको छैन।’
प्रधानमन्त्रीले मन्त्री, मुख्यसचिवदेखि सचिवहरूको पनि दिमागमा बेचैनी बढेको देखेको बताए। ‘मेरो बढेर अरुको पनि बढेको देखेको हो कि’, उनले भने, ‘चैन भएको जस्तो त्यति देखिएको छैन। परिस्थिति अलि बढी जटिल र चुनौतीपूर्ण छन्। त्यहाँ धेरै कारणहरूले काम गरेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।