काठमाडौं- गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो। करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो।
अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा टेबुल गर्ने छ। आमसञ्चार विधेयक र बिउ विजन सम्बन्धी विधेयक समितिमा दफावार छलफल भइसकेको छ।
प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको ३ दिन पूरा भइसकेकोले संसद्मा पेस गर्ने तयारी छ। यस्तै, मङ्गलबार सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।