काठमाडौं– पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका छन्। मंगलबार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका हुन्।
उनले संसद्मा चयन हुने शब्द र वाक्यहरु संसद्को ओज र गरिमा अनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले संसद्मा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भए पनि संसदको त्यो प्रकारको गाम्भीर्यता कायम हुन नसकेको बताए।
उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्ने बताए। संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पारे। विचारको रिक्तता र शून्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको उनको भनाइ छ।
विचारको शून्यताको कारण संसद्को मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनले बताए।
पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताए। उनले त्यसप्रकारको साजिसका विरुद्धमा अभियान छेड्नुपर्ने बताए। उनले देशमा जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने गलत भाष्य सिर्जना गरेर लोकप्रियतावाद र अराजकतावादतिर लान खोजिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।