काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको हो।
त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ।
आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा ६ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको छ।
यसैगरी पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरु र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरु गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको जसपाले जनाएको छ।
पार्टीले मातहत समितिलाई निर्णय कार्यान्वयन गर्न/गराउन आइतबार परिपत्र समेत जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।