काठमाडौँ- न्याय परिषद्ले विवादमा मुछिएका दुई जना न्यायाधीशलाई बर्खास्त गरेको छ।। आइतबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीश डा नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो।
परिषद् बैठकले दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाई बर्खास्तका लागि पत्र पठाएको हो।
थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। उनलाई त्यहाँबाट कारबाहीका लागि न्याय परिषद्मा तानिएको थियो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थपलियालाई न्याय परिषद्मा तान्ने निर्णय गरेका थिए। निरौला जिल्ला अदालत काठमाडौंमा थिए।
उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियाको सम्बन्धमा गम्भीर उजुरी परेपछि उजुरीमाथिको प्रारम्भिक छानबिनले विस्तृत छानबिनका लागि सिफारिस गरेको थियो ।
त्यसैगरी काठमाडौँ जिल्ला अदालतमा रहँदा अपहरण तथा फिरौती लिने कार्यमा संलग्न नेपाली नागरिकलाई भारतीय नागरिक भनी सफाइ दिएको न्यायाधीश निरौलामाथि आरोप थियो।
परिषद्ले न्यायाधीश राजकुमार कोइरालालाई निगरानीमा राख्दै सचेत गराएको छ। उनी २ करोड रुपैयाँको अडिओ टेपका कारण विवादमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।