काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले राजनीतिक दलहरुले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताए। उनले सबै राजनीतिक दलहरु मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताएका हुन्।
महामन्त्री थापाले राजनीतिक दलहरु एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको धारणा व्यक्त गरे। उनले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए।
उनले भने, ‘राजनीतिक दलहरुका साथीहरु एकै ठाउँमा छौं। हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ। यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन। त्यसमा ध्यान पुर्याउनुपर्ने हुन्छ।’
महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए। सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।