काठमाडौं– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्रको पक्षमा आउनुपर्ने बताएका हुन्।
उनले देशलाई सनातन हिन्दू राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने धारणा राखे। उनले बहुमत महासमिति सदस्यहरुले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताए। उनले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताए।
उनले भने, ‘सनातनीरुको मुल मन्दिरको रुपमा रहेको देश यसलाई आत्मसात नगर्नु दुर्भाग्य हो। त्यसकारण काँग्रेस जस्तो राष्ट्रियताको विचार बोकेको पार्टीले यो विषयलाई हिजो गल्ती गर्यौं अब सच्याएर आत्मसात गर्दै लोकतन्त्रवादी पार्टी, राष्ट्रवादी पार्टीले यो विषयलाई आत्मसात् गरौं। यो विषयलाई लिएर जनताको जाऔं भन्ने हाम्रो कुरा हो। कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार हाम्रो पार्टीको आन्तरिक संरचनामा केन्द्रीय कार्यसमिति भन्दापनि माथि महासमिति हुन्छ। केन्द्रीय कार्यसमितिको निर्णयभन्दा माथि महासमितिका निर्णय हुन्छन्। यो पार्टीको वैधानिक व्यवस्था हो। तेत्रो ठूलो उच्च निकायको बैठकमा उपस्थित संख्या भन्दा धेरै ठूलो प्रतिशतमा महासमितिका नेता साथीहरुले लिखित रुपमा पूर्ण प्रतिवद्धतासहित यो विषयलाई समर्थन गर्नुभएको अवस्था छ। हाम्रो पार्टी लोकतन्त्रवादी पार्टी हो। लोकतन्त्र भनेको जनमतको कदर गर्नु हो। सम्मान गर्नु हो। अर्थात बहुमतको पालना गर्नु हो। लिखित रुपमा महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरिसकेपछि हाम्रो नेतृत्वले अझैपनि यो कुरालाई आत्मासात् गरेर खुला रुपमा आत्मसात गरिरहेको त्यो कुरालाई स्वीकारीरहेको अवस्था छैन । तर यसले पार्टीलाई क्षति पुग्छ।’
उनले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरुले देशको स्वधर्मलाई अवलम्वन गरेका भन्दै नेपाल पनि सनातन हिन्दू राष्ट्र हुनुपर्ने बताए। राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।