काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरे पनि आफूहरुले मनाएको बताएका छन्।
शुक्रबार २३औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दाहालले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गरे। उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए।
उनले भने, ‘अहिले राज्यले राष्ट्रिय शहिदको सम्मान दिइसकेपछि र अब जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा राज्यको तर्फबाट घोषणा मैले गरेको थिएँ। सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस र बिदा भनेर लेखिएको छ। तर अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको भएर यो दिवस गर्दा भनेको छ। अदालतको भनाइलाई कमेन्ट गरेको छैनौं। म प्रधानमन्त्री भएकाले कमेन्ट गर्न अफ्ठ्यारो हुन्छ। हामीले त जनयुद्ध दिवस त मनायौं। संक्रमणकालीन न्याय टुंगिएपछि राष्ट्रिय दिवस भएर बिदा हुन्छ।’
दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्। उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमं प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिए।
सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने उनको भनाइ थियो। उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहिद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।