काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरुको धर्म सरकारको विरोध मात्रै गर्नु हो र? भन्दै प्रश्न गरेका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान खोज्दा पनि प्रतिपक्षहरुले विरोध गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरि घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गरे। उनले भ्रष्टहरुलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाऊ गरे। सांसद पार्कीले राजनीतिक भ्रष्टीकरणलाई पनि सरकारले पाखा लगाउने काम गरेको बताए।
उनले भने, ‘प्रतिपक्षको धर्म विरोध मात्रै गर्नु हो त? वास्तवमा भन्ने हो भने यो सरकारले संविधान र यो व्यवस्थालाई अझ मजबुत बनाउने, यो व्यवस्थालाई स्थायित्व दिने काम गरेको छ। के यो ऐतिहासिक काम होइन र?’
पार्कीले अहिलेका प्रधानमन्त्रीले सुशासनको थालनी गरेको दाबी समेत गरे। उनले मुलुकलाई सुशासन, समृद्धिको बाटोमा अघि बढाउने काम गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार समेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।