काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफ्नो घर बलियो बनाएर नेताका नाममा सहकारी ठग्नेलाई ठीक ठाउँमा ल्याउने बताएका छन्।
महासमितको बैठक समापनमा बोल्दै उनले कांग्रेस आफैं तीन तहका सरकारमा रहेकाले हरेकले आफ्नो रिपोर्ट दिन सक्नुपर्ने बताए।
उनले भने, ‘हामी अहिले तिनै तहका सरकारमा छौं। अहिले राम्रो काम गरौं। अर्कोचोटी आउने निर्वाचनको चिन्ता गर्नुपर्दैन। जनताले अहिले सुशासन र डेलिभरी चाहेका छन्। त्यसैले अब ठूलो माछा समातियोस्। हाम्रो घर ठीक बनाएपछि बलियो कांग्रेसले नेताको नाममा सहकारी ठग्ने र नागरिकता किर्ते गर्नेलाई ठीक ठाउँमा ल्याउँछ।’
त्यसका लागि दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्षित गर्दै यस्तो बताएका हुन्। नागरिकले सुशासन चाहेको बताउँदै उनले यस्तो उल्लेख गरे। उनले भने, ‘काम गर्न नसक्नेलाई विश्राम दिऊँ। दाग लागेको मन्त्रीलाई घर पठाउँ।’
स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ। आयोगले गरिरहेको अनुसन्धानमा उनी पनि मुछिएका छन्।
उनले दाग मुखमा लाग्नेले ऐना पुछ्नतिर लाग्न नहुने बताए। आफ्नो दाग आफैं मेटाउन लाग्नुपर्ने उनको भनाइ थियो। २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।