काठमाडौं– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई–मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो।
बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे अजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताए। धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने उनले जानकारी दिए। उनले चैत्रपछि तीन वटा अभियान चलाउने बताए।
उनले भने, ‘आजको एजेण्डा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिमबारे त्यहाँ एउटा दल नेताको कुरा छ नि। मधेशमा पनि विश्वासको मत बारेमा, सिरहामा केही समस्या छ त्यसको बारेमा भोलि छलफल हुन्छ। भूकम्पको पुनः निर्माणको सम्बन्धमा थिए। इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ। त्यसमा सबैभन्दा बढी खट्ने, ७५ सम्म, ५० देखि ७५ सम्म गरी चार क्याटोगरीमा बाँडेका थियौं। त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरा प्रश्तुत गर्नुभएको छ । सवोत्कृष्ट कोको भए उनीहरु तीन जनाको पनि नाम प्रस्तुत भोलि गर्नेछु।’
यस्तै सबैभन्दा नराम्रो काम गर्ने तीन जनाको नामसमेत प्रस्तुत हुने बताए। ‘सबैभन्दा नराम्रा तीन जनाको नाम पनि प्रस्तुत हुन्छन्। राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्वन, चेतावनी हुनसक्छ। तीन वटा अभियान चलाउँछौं। तराई मधेश जागरण अभियान, झापाबाट उद्घाटन हुन्छ, चैत्र १ गते। अर्को उत्तर दक्षिण अभियान चल्छन्। प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुनेछन्।’
प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्त्वपूर्ण रुपमा लिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।