काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका छन्।
बिहीबार पार्टीको महासमिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै पूर्वउपसभापति श्रेष्ठले पार्टी भित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका छन्।
उनले अनुशासनको डण्डालाई दह्रो बनाउनसके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताए। उनले कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह र अन्तर्घात गर्नेहरुलाई काखि च्यापेमा त्यसले राम्रो परिणाम दिन नसक्ने बताए।
उनले भने, ‘हामीले पहिलै गठबन्धन गर्नुपर्छ भनेर खुट्टा कमाउनु परेको छैन। हामी संगठित हौं। हाम्रो पार्टीलाई अनुशासनमा राख्न सकौं। अनुशासनको डण्डालाई दह्रो बनाउन सक्यो भने हामी ठूलो पार्टी मात्रै होइन बहुमत ल्याउन सक्ने पार्टी बनाउन सक्छौं। जब साथीहरुलाई अनुशासनमा राख्न सक्दैनौं। साथीहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह गर्ने साथीहरुलाई, अन्तर्घात गर्ने साथीहरुलाई जब काखि च्याप्छौं। काखि च्यापेपछि त्यसको परिणाम यस्तै भोग्नुपर्छ।’
पार्टी संगठन राम्रो बनाएमा ०८४ सालमा कसैसँग मिल्नु नपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।