काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति नै गलत भएको टिप्पणी गरे।
गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिको हातमा पुगेको बताउँदै उनले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पाताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेकोले यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्याएको पुष्टि हुने उल्लेख गरे।
भण्डारीले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गगर्दै अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए।
सांसद भण्डारीले भन, ‘किन १०/१२ जनाको हातमा बैंक छ। उसैको हातमा उद्योग छ। उसैको हातमा बीमा छ। उसैको हातमा जलस्रोतको लाइसेन्स छ। उसैको हातमा हस्पिटल छ। उसैको हातमा स्कुल छ। उसैको हातमा जमिन खन्ने लाइसेन्स छ। अब यो देश कसरी बन्छ?’
सांसद भण्डारीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए। उनले नेपाल भित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गरे।
उनले किसानको नाममा अनुदान अरुले नै खाने गरेको भन्दै तिनीहरुलाई के गर्ने भनेर प्रश्न समेत गरे। नेपाली कपडा मात्र लगाउने नीति बनाउन सके राज्यको अर्बौं रुपैयाँ बच्ने भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।